सर्लाही । गर्मी बढेसँगै बागमती नदी किनारमा घुम्न जाने र पौडी खेल्ने युवाको संख्या बढ्छ । तर यही रमाइलो हरेक वर्ष कतिपय परिवारका लागि कहिल्यै नमेटिने पीडामा परिणत हुने गरेको छ । विशेष गरी सर्लाही–रौतहट सीमास्थित बागमती नदीको ड्याम र नुनथर आसपासको क्षेत्र डुबेर ज्यान गुमाउने घटनाका कारण वर्षौंदेखि जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ ।
यस वर्ष पनि जेठ महिनामा बागमती नदीमा पौडी खेल्ने क्रममा दुई किशोरको डुबेर मृत्यु भयो । उनीहरू बेपत्ता भएको करिब २४ घण्टापछि मात्र शव फेला परेको थियो । यो घटना कुनै अपवाद होइन । हरेक वर्ष गर्मी याम सुरु भएसँगै यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।
स्थानीयका अनुसार नदी किनारमा ‘यहाँ खतरा छ’ भन्ने सामान्य चेतावनी राखिए पनि त्यसले दुर्घटना रोक्न सकेको छैन । जोखिमयुक्त क्षेत्रमा प्रवेश रोक्ने कुनै प्रभावकारी भौतिक संरचना, पर्याप्त सूचना बोर्ड, नियमित निगरानी वा सुरक्षा व्यवस्था नहुँदा युवाहरू सहजै नदीमा प्रवेश गर्ने गरेका छन् ।
स्थानीयवासीको भनाइमा दुर्घटना दोहोरिनुमा सम्बन्धित निकायको बेवास्तासँगै जोखिमको जानकारी हुँदा हुँदै पनि गहिरो पानीमा पौडी खेल्ने प्रवृत्ति पनि उत्तिकै जिम्मेवार छ । धेरैले अघिल्ला दुर्घटनाबाट पाठ नसिकी रमाइलोका लागि जोखिमपूर्ण क्षेत्रमा जाने गरेका छन् ।
नुनथर आसपासको क्षेत्रमा नदीको भँगालो निकै गहिरो छ भने बागमती सिँचाइ आयोजनाको ड्याम नजिक पानीको सतह एकाएक गहिरिने भएकाले त्यहाँ पौडी खेल्नु अत्यन्त जोखिमपूर्ण मानिन्छ । बाहिरी जिल्लाबाट घुम्न आउने धेरै युवालाई यसबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको सम्भावना झन् बढ्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीय तहका अनुसार जोखिम न्यूनीकरणका लागि चेतनामूलक सूचना बोर्ड राख्ने, नदी क्षेत्रमा निगरानी बढाउने तथा पर्यटकीय क्षेत्र व्यवस्थापन गर्ने प्रयास भइरहेको छ । तर खुला भूगोल भएका कारण मानिसहरू विभिन्न दिशाबाट नदीमा प्रवेश गर्ने हुँदा पूर्ण रूपमा नियन्त्रण गर्न कठिन भइरहेको जनाइएको छ। दुर्घटनाको जोखिमबारे जानकारी हुँदा हुँदै पनि कतिपय व्यक्ति जिद्दी गरेर नदीमा पस्ने गरेको अधिकारीहरूको भनाइ छ ।
नुनथर क्षेत्र व्यवस्थापनसँग सम्बन्धित निकायले सार्वजनिक बिदा, पर्व तथा गर्मी याममा हजारौं मानिस आउने भएकाले सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको जनाएको छ । केही स्थानमा सूचना बोर्ड राखिएको र नदीमा पस्न खोज्नेहरूलाई सम्झाएर फर्काउने प्रयास गरिए पनि त्यसले मात्र दुर्घटना रोक्न पर्याप्त हुन सकेको छैन ।
स्थानीयका अनुसार बागमतीमा डुबेर ज्यान गुमाउनेमध्ये अधिकांश किशोर तथा युवा उमेर समूहका हुन्छन् । साथीभाइसँग घुम्न जाने, रमाइलो गर्ने क्रममा जोखिम मोलेर नदीमा हामफाल्ने प्रवृत्तिले वर्षेनी नयाँ दुःखद घटना निम्त्याइरहेको छ । वर्षौंदेखि एउटै प्रकृतिका दुर्घटना दोहोरिँदा अब केवल चेतावनी बोर्ड राखेर मात्रै नपुग्ने स्थानीयको भनाइ छ ।
जोखिमयुक्त क्षेत्रलाई सुरक्षित बनाउने, प्रभावकारी निगरानी गर्ने, पौडी निषेधलाई कडाइका साथ कार्यान्वयन गर्ने र जनचेतना अभिवृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ । अन्यथा बागमतीको यो ड्याम हरेक गर्मीयाममा फेरि पनि कसैको रमाइलोलाई शोकमा बदल्ने ‘डेथ जोन’ बनिरहने खतरा कायमै रहनेछ ।






