रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप तथा लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ ।
प्रशासनिक तहबाट समाधान हुन नसकेको उक्त विवादमा सर्वोच्च अदालतले विपक्षीहरूका नाममा ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहित स्थानीयवासी निवेदक रहेका छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकायलाई विपक्षी बनाइएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । तर स्थानीयका अनुसार हालसम्म पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप र लेटरप्याडको प्रयोग रोकिएको छैन ।
स्थानीयवासीको दाबीअनुसार ‘पेटभर्वा’ नाम दशकौँदेखि सरकारी अभिलेख, नक्सा तथा अन्य आधिकारिक कागजातमा कायम छ । तर २०७४ सालको स्थानीय तह निर्वाचनपछि वडा कार्यालयमा ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेपछि विवाद सुरु भएको हो ।
विरोधपछि केही समय ‘पेटभर्वा’ नाम नै प्रयोग गरिए पनि २०७९ सालको स्थानीय तह निर्वाचनपछि पुन: ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालिएको आरोप स्थानीयको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन् । सोही कानुनी आधारमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो ।
हालका वडा अध्यक्ष राम एकवाल यादव तथा पूर्व वडा अध्यक्ष हिरालाल यादवले भने नगर कार्यपालिका बैठकबाट गाउँको नाम परिवर्तन गर्ने निर्णय भइसकेकाले वडा कार्यालयको लेटरप्याड र छापमा ‘पेटभर्वा’को सट्टा ‘यदुवंशीनगर’ प्रयोग गर्दै आएको बताउने गरेका छन् ।
गाउँको नामलाई लिएर दुई समुदायबीच पटक–पटक विवाद हुँदै आएको स्थानीयवासी बताउँछन् । उनीहरूका अनुसार यस विवादले कानुनी र प्रशासनिक विषयसँगै सामाजिक ध्रुवीकरणसमेत बढाएको छ । स्थानीयले अब सर्वोच्च अदालतको अन्तिम निर्णयबाट लामो समयदेखि जारी नाम विवादको टुंगो लाग्ने अपेक्षा गरेका छन् ।




