रौतहट । जबरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय पाएका फरार अभियुक्त प्रभु माझीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०६८ फागुन २५ गते तत्कालीन बगही ६ (हाल कटहरिया नगरपालिका ७) मा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद सजाय सुनाएको थियो ।
सजाय भुक्तानका क्रममा उनी कारागार कार्यालय गौरमा रहेका बेला २०८२ भदौ २४ गते कैदीबन्दी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए । त्यसयता उनी लुकीछिपी बस्दै आएका थिए ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलासका क्रममा कटहरिया नगरपालिका ७ बगहीबाट माझीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।






