काठमाडौं । वैदेशिक रोजगारीका नाममा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने प्रलोभन देखाएर २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका १० बस्दै आएका रुपन्देही घरका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौं बुढानीलकण्ठ नगरपालिका १२ बस्ने ओखलढुंगा घरका २९ वर्षीय सुरेश घिमिरे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार राजकुमारले न्यूजिल्याण्ड पठाइदिने भन्दै दुई जना पीडितबाट ३ लाख रुपैयाँ र सुरेशले पोर्चुगल पठाइदिने भन्दै एक जना पीडितबाट १८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा प्रहरीले राजकुमारलाई काठमाडौंको तारकेश्वर नगरपालिका १० बाट तथा सुरेशलाई काठमाडौं महानगरपालिका ७ बाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।






