वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्ष तनावग्रस्त बनेको छ । उपचारमा लापरबाही भएको आरोप लगाउँदै मृतकका आफन्तले आकस्मिक कक्षमा तोडफोड गरेका छन् ।
शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका २५ का ४५ वर्षीय राजकुमार पटेलको उपचारकै क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित बनेका हुन् । तोडफोडपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो ।
मृतकका आफन्तका अनुसार राजकुमारलाई छातीमा असह्य पीडा भएपछि तत्काल नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । तर आवश्यक उपचार समयमै हुन नसकेको, इसिजी लगायत अत्यावश्यक उपकरण तत्काल उपलब्ध नभएको तथा चिकित्सकले लेखिदिएका औषधि समेत सहज रूपमा प्राप्त गर्न नसकिएको आरोप उनीहरूले लगाएका छन् । उपचारमा भएको ढिलाइका कारण बिरामीको ज्यान गएको उनीहरूको दाबी छ ।
बिरामीको मृत्युको खबरपछि आक्रोशित आफन्त अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोडमा उत्रिएका थिए । घटनाका क्रममा अस्पताल परिसरमा तनाव उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रराज मल्लका अनुसार घटनाका क्रममा ड्युटीमा रहेका एक प्रहरीमाथि हातपातसमेत भएको छ । प्रहरीमाथि हातपात गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार हाल अस्पतालको अवस्था सामान्य रहेको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी छ । उता, नारायणी अस्पताल प्रशासनले समाचार तयार पार्दासम्म घटनाबारे कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । उपचार प्रक्रियामा लापरबाही भएको आफन्तको आरोपबारे अस्पतालको प्रतिक्रिया आउन बाँकी छ ।




