जनकपुरधाम । धनुषामा एक वडा सदस्यको घरबाट ठूलो परिमाणमा रासायनिक डिएपी मल बरामद भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले धनुषाधाम नगरपालिका ५ का वडा सदस्य सुरेश साहको घरबाट करिब ४०० बोरा डिएपी मल नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार वडा सदस्य साहले घरमा डिएपी मल लुकाइछिपाइ भण्डारण गरी रातिको समयमा चर्को मूल्यमा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले छापा मारेको थियो ।
छापामार कारबाहीका क्रममा घरबाट ठूलो परिमाणमा डिएपी मल फेला परेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा मलको वैधानिक स्रोत खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बरामद गरिएको मल ट्र्याक्टरमार्फत इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको छ । मलको वास्तविक सङ्ख्या, खरिद तथा आपूर्तिको स्रोत र वितरण प्रक्रियाबारे विस्तृत अनुसन्धान जारी रहेको उनले बताए ।
घटनापछि वडा सदस्य सुरेश साह फरार रहेका छन् । उनको खोजी कार्य तीव्र पारिएको र घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।




