बारा । बारा जिल्लासँग सीमा जोडिएको भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको घोडासहन क्षेत्रमा प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालविरुद्ध ठूलो सफलता हासिल गरेको छ । प्रहरीले शनिबार साँझ नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको करिब ६ किलो ५९० ग्राम अफिम बरामद गर्दै नेपाल र भारतका दुई महिलालाई पक्राउ गरेको हो ।
भारतीय प्रहरीका अनुसार नेपालबाट मुजफ्फरपुरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा घोडासहन बस स्ट्यान्डमा सघन जाँच गर्ने क्रममा ९ वटा छुट्टाछुट्टै प्याकेटमा लुकाएर राखिएको अफिम बरामद गरिएको हो । बरामद गरिएको अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ५० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ ।
पक्राउ पर्नेमा बिहारको सुगौली निवासी सीमा देवी र नेपालको बारा जिल्ला, कलैया उपमहानगरपालिका–बैराठपुर निवासी बदामी देवी रहेको भारतीय प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले लागूऔषध ओसारपसारमा संलग्न रहेको स्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अनुसन्धानअनुसार उनीहरूले नेपालबाट अफिम ल्याई मोतिहारी हुँदै मुजफ्फरपुर पुर्याउने योजना बनाएको खुलेको छ । घटनापछि प्रहरीले तस्करी सञ्जालका मुख्य योजनाकार तथा मुजफ्फरपुरस्थित रिसिभरको खोजी तीव्र पारेको जनाएको छ ।
मोतिहारी प्रहरीले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँच थप कडा बनाउँदै आएको जनाएको छ ।






