बारा । बाराको कलैया उपमहानगरपालिका १७ ब्रह्मपुरीमा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । आइतबार बिहान करिब ८:२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका ३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा बिहान करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
मोटरसाइकलमा पछाडि सवार सोही स्थानका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी सामान्य घाइते भएका छन् । उनको हातमा चोट लागेको छ र प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गंगापुरबाट असई मोहम्मद हुसेन देवानको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






