सर्लाही । सर्लाहीको बलरा नगरपालिका क्षेत्र हुँदै भारततर्फ तस्करीका लागि लैजाँदै गरिएको आशंकामा मदिरा लोड गरिएका दुईवटा पिकअप प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार सोमबार बिहान करिब ९ बजे बलरा नगरपालिका ३ लक्ष्मिपुर सीमा क्षेत्रबाट प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको बोलेरो पिकअप नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी, बिहान करिब ११ बजे बलरा नगरपालिका १ सेढवाबाट प्रदेश २–०३–००१ च ५६६८ नम्बरको अर्को पिकअप पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार दुवै सवारीसाधनमा ठूलो परिमाणमा सौफी मदिरा लोड गरिएको थियो ।
ती मदिरा भारततर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार नियन्त्रणमा लिइएका दुवै पिकअपलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गडहियामा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डीएसपी बेदप्रसाद गौतमले मदिरा बोकेको पिकअप नियन्त्रणमा लिइएको विषयमा प्रारम्भिक जानकारी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण संकलन भइरहेको बताए । उनले अनुसन्धान पूरा भएपछि थप जानकारी सार्वजनिक गरिने जानकारी दिए ।
यस घटनापछि बलरा सीमा नाकाबाट मदिरासहित विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको प्रभावकारितामाथि समेत प्रश्न उठाएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




