वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालमा तोडफोडको घटनाविरुद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीको आन्दोलन दोस्रो दिन पनि जारी रहँदा वीरगन्जका सरकारी तथा निजी अस्पतालहरूको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले सोमबार घण्टाघर चोकमा प्रदर्शन गर्दै अस्पतालमा सुरक्षित कार्य वातावरणको सुनिश्चितता, स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनाको अन्त्य तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।
आन्दोलनका कारण नारायणी अस्पतालमा आकस्मिक सेवासहित अधिकांश स्वास्थ्य सेवा ठप्प भएका छन् । निजी अस्पतालका चिकित्सकहरू पनि आन्दोलनमा सहभागी भएपछि वीरगन्जका अधिकांश स्वास्थ्य संस्थामा बिरामीले नियमित उपचार सेवा पाउन सकेका छैनन् । उपचारका लागि अस्पताल पुगेका सेवाग्राही भने समस्यामा परेका छन् ।
यसैबीच, नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सासँग आग्रह गरेका छन् । घटनाको दिनको सीसीटीभी फुटेजका आधारमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने अस्पतालको माग छ ।
अस्पतालका अनुसार घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मी मानसिक र शारीरिक रूपमा त्रसित भएकाले नियमित सेवा सञ्चालन गर्न कठिन भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई आइतबार नियन्त्रणमा लिएको भएपनि उनको परिचय सार्वजनिक गरिएको छैन । घटनामा गम्भीर घाइते भएका चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले चिकित्सकहरूको टोलीलाई छलफलका लागि बोलाएका छन् । छलफलबाट दोषीमाथि कारबाही हुने स्पष्ट प्रतिबद्धता आए आकस्मिक सेवा तत्काल सञ्चालन गर्ने र अन्य सेवाबारे थप निर्णय लिने तयारी रहेको उनले बताए ।
गत शनिबार बिहान वीरगन्ज महानगरपालिका २५ का राजकुमार पटेललाई गम्भीर अवस्थामा नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । छातीसम्बन्धी समस्याको उपचारका क्रममा उनको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका डा. प्रमोद राममाथि कुटपिट गरेका थिए ।
सोही घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।




