सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृतकका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै सोमबार अस्पतालअगाडि प्रदर्शन गरेका हुन् ।
मृतक राजविराज नगरपालिका १५ भरुवाकी कविता यादव हुन् । उनलाई सर्पले टोकेपछि उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको थियो ।
मृत्युपछि आक्रोशित आफन्तले अस्पताल प्रशासनको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै दोषीको पहिचान गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाहीको माग गरेका छन् । प्रदर्शनका कारण केही समय अस्पताल परिसर तनावपूर्ण बनेको थियो ।
स्थिति नियन्त्रणमा राख्न सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । यता, गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनले घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।




