महोत्तरी । मिटरब्याजबाट पीडित बनेका सर्वसाधारणले दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै सोमबार उच्च अदालत जनकपुरधामको मुख्य प्रवेशद्वार अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका पीडितहरूले वर्षौंदेखि न्यायको प्रतीक्षामा बस्नुपरेको गुनासो गर्दै मिटरब्याजमा संलग्न व्यक्तिमाथि प्रभावकारी कारबाही हुन नसकेको बताएका छन् । उनीहरूले राजनीतिक र प्रशासनिक संरक्षणका कारण दोषीहरू कानुनी कारबाहीबाट उम्किरहेको आरोप समेत लगाए ।
प्रदर्शनकारीहरूले मिटरब्याजसम्बन्धी मुद्दाको छिटो सुनुवाइ गर्न, दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा पीडितलाई शीघ्र न्याय दिलाउन सरकार र न्यायालयसँग माग गरेका छन् ।
पीडितहरूको भनाइअनुसार मिटरब्याजका कारण धेरै परिवारले घरजग्गा गुमाएका छन् भने कतिपय आर्थिक रूपमा विस्थापित भएका छन् । उनीहरूले मिटरब्याजबाट प्रभावित परिवारको सम्पत्ति फिर्ता गराउने व्यवस्था गर्न र यस्ता अपराधमा संलग्नलाई कडा सजाय सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
प्रदर्शनका क्रममा केही समय अदालत परिसर बाहिर नाराबाजी गरिएको थियो । सम्भावित अप्रिय घटना हुन नदिन अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रदर्शन भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा सहभागीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन् ।






