वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका २६ सुगौलीबिर्तामा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार स्थानीय प्रभु ठाकुरकी ५ वर्षीया छोरी पुचकी ठाकुर र ३ वर्षीया छोरी घघरी ठाकुरको डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ४ देखि ५ बजेको बीचमा घरबाहिर खेलिरहेका दुवै बालिका अचानक सम्पर्कविहीन भएका थिए । परिवारले आफन्त र छिमेकीको सहयोगमा आसपास खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
मङ्गलबार बिहान सुगौलीबिर्ताबाट खेततर्फ जाने चक्रगह क्षेत्रमा निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा दुई बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले शव निकालेर कानुनी प्रक्रिया अघि बढाएको थियो ।
दुवै बालिकाको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घटनापछि सुगौलीबिर्ता गाउँ शोकमा डुबेको छ । स्थानीयवासीले निर्माणाधीन कल्भर्ट वरिपरि आवश्यक सुरक्षा घेरा वा छेकबार नलगाइएकै कारण यस्तो दु:खद घटना भएको दाबी गर्दै सम्बन्धित निकायको लापरवाही प्रति असन्तुष्टि जनाएका छन् ।






