काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ६ बस्ने सिन्धुली घर भएका ४६ वर्षीय गणेशबहादुर कार्की, नागार्जुन नगरपालिका ४ बस्ने दाङ घर भएका ४७ वर्षीय झगे विक, काठमाडौं महानगरपालिका १६ बस्ने चितवन घर भएका ३४ वर्षीय कमल श्रेष्ठ तथा काठमाडौं महानगरपालिका ७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार गणेशबहादुर कार्कीले सर्विया पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ, झगे विकले युरोप पठाइदिने भन्दै तीन जना पीडितबाट ३० लाख रुपैयाँ, कमल श्रेष्ठले अजरबैजान पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ तथा शारदा श्रेष्ठले फ्रान्स पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा खटिएको प्रहरी टोलीले गणेशबहादुरलाई काठमाडौं महानगरपालिका ६ बाट र झगे विकलाई काठमाडौं महानगरपालिका २१ बाट सोमबार पक्राउ गरेको थियो । त्यसैगरी कमल श्रेष्ठलाई काठमाडौं महानगरपालिका १६ बाट तथा शारदा श्रेष्ठलाई काठमाडौं महानगरपालिका ७ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।






