रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका ६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नामलाई लिएर लामो समयदेखि जारी विवाद फेरि चर्किएको छ । मंगलबार राति गाउँको प्रवेशद्वारमा राखिएका ‘पेटभर्वा’ लेखिएका स्वागत बोर्डमा तोडफोड र कालोमोसो दलिएपछि स्थानीयस्तरमा पुन: तनाव सिर्जना भएको हो ।
स्थानीयका अनुसार गाउँका तीन वटा स्वागत बोर्ड उखेलेर फालिएको छ भने थप दुई वटा बोर्डमा कालोमोसो दलिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष छानबिन तथा कानुनी कारबाही गर्न उनीहरूले प्रशासनसँग माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर रादेश खत्रीले एउटा बोर्डमा तोडफोड भएको र अर्को बोर्डमा अज्ञात व्यक्तिले कालोमोसो दलेको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
स्थानीयवासीका अनुसार ‘पेटभर्वा’ नाम पुस्तौंदेखि सरकारी अभिलेख, नक्सा तथा प्रशासनिक कागजातमा कायम रहँदै आएको हो । तर केही वर्षयता कानुनी प्रक्रिया र सर्वपक्षीय सहमति बिना ‘यदुवंशीनगर’ नाम प्रयोग गर्न थालिएपछि विवाद सुरु भएको उनीहरूको दाबी छ ।
उनीहरूका अनुसार २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनपछि वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ उल्लेख हुन थालेपछि गाउँ दुई धारमा विभाजित भएको छ ।
विरोधपछि केही समय ‘पेटभर्वा’ नाम प्रयोग गरिए पनि २०७९ को निर्वाचनपछि पुन: ‘यदुवंशीनगर’ नै प्रयोग हुन थालेको स्थानीयहरूको भनाइ छ । विवाद समाधानका लागि स्थानीयहरूले जिल्ला प्रशासन कार्यालय रौतहट, गृह मन्त्रालयदेखि सर्वोच्च अदालतसम्म गुहार मागेका छन् ।
जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुनअनुसार आधिकारिक नाम, छाप र लेटरप्याड मात्रै प्रयोग गर्न वडा कार्यालयलाई निर्देशन दिँदै दुई पटक तीन दिनभित्र लिखित स्पष्टीकरणसमेत मागेको थियो । तर प्रशासनको निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएको स्थानीयहरूको आरोप छ ।
यसैबीच, गाउँको नाम तथा वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको विषयमा दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
यद्यपि विषयको संवेदनशीलतालाई दृष्टिगत गर्दै अदालतले अग्राधिकारका साथ शीघ्र सुनुवाइ गरी अन्तिम निर्णय गर्न आदेश दिएको छ । अदालतले यो विवाद जातीय, भाषिक, सांस्कृतिक तथा सामाजिक सद्भावसँग सम्बन्धित भएकाले ढिलाइ नगरी टुंगो लगाउनुपर्ने उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले यसअघि सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय तथा कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन् ।
यता वर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले भने नगर कार्यपालिका बैठकबाट गाउँको नाम परिवर्तन गर्ने निर्णय भइसकेकाले वडा कार्यालयको छाप र लेटरप्याडमा ‘यदुवंशीनगर’ प्रयोग गरिएको बताउँदै आएका छन् ।
लामो समयदेखि जारी नाम विवादका बीच स्वागत बोर्डमा गरिएको तोडफोड र कालोमोसो दल्ने घटनाले गाउँमा सामाजिक ध्रुवीकरण थप बढ्न सक्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।
उनीहरूले कानुनी प्रक्रियामार्फत विवादको स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । स्थानीयवासीको अपेक्षा अब सर्वोच्च अदालतबाट आउने अन्तिम निर्णयले वर्षौंदेखि कायम रहेको गाउँको नामसम्बन्धी विवादको स्थायी निकास दिनेछ ।




