रौतहट । जिल्ला अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका १० जना प्रतिवादीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानमा लुकिछिपी बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो । उनीहरू विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिए पनि फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दाका गौर नगरपालिका–४ निवासी कल्लु भन्ने अमित कुमार सहनी रहेका छन् । उनीविरुद्ध २ वर्ष ११ महिना ३ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना बाँकी रहेको थियो ।
त्यस्तै, लेनदेन बिगो मुद्दामा दोषी ठहर भएका देवाही गोनाही नगरपालिकाका मोजेलाल राजत कुर्मीलाई २ वर्ष कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिट तथा लुटपिट मुद्दामा दोषी ठहर भएका चन्द्रपुर नगरपालिका ५ की नाजदा खातुन, चन्द्रपुर ४ का शेख समिर र शेख मोतिजरलाई पनि पक्राउ गरिएको छ । उनीहरूलाई जनही १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चोरी मुद्दाका देवाही गोनाही ४ का विक्रम कुमार महतोलाई १३ दिन कैद, ज्यानसम्बन्धी कसुर मुद्दाका परोहा ४ का तिलाई राय यादवलाई २३ दिन कैद तथा ३ हजार रुपैयाँ जरिवाना, साथै चोरी मुद्दाकै गढीमाई ५ का करण कुमार यादव र माधव नारायण ४ का राम कुमार यादवलाई जनही २० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराई कैद भुक्तान तथा जरिवाना असुलउपरको प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जनाएको छ ।




