कपिलवस्तु । कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय बालक समेत छन् । महाराजगन्ज नगरपालिका २ गैडहवास्थित सडकमा ना ५ ख २३६४ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा महाराजगन्ज २ गैडहवाका आशिष कश्यपका छोरा १२ वर्षीय आनन्द कश्यपको मृत्यु भएको छ । उनी पैदल हिँडिरहेका थिए । यस्तै साइकलयात्रीहरू महाराजगन्ज ३ गनौरियाका ४६ वर्षीय विजयकुमार गुप्ता र ७५ वर्षीय भोल्लर कुर्मीको पनि मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।






