काठमाडौं । एसेलसहित अफगानिस्तानका महिला अन्तराष्ट्रिय टीमका क्रिकेटर टीमका कयौँ खेलाडी लुकिरहेका छन् । एसेल उनको वास्तविक नाम होइन । काबुलमा तालिबानको नजर अफगानिस्तानको महिला क्रिकेटरमाथि छ ।
एसेलका अनुसार महिला क्रिकेटसहित अन्य खेलमा सहभागी छन्, अब उनीहरु सुरक्षित छैनन् । काबुलको स्थिति निकै खराब छ । उनी भन्छिन्– ‘हामी ह्वाट्सएप ग्रुपमा हरेक रात आफ्नो समस्या र योजनाबारे कुरा गर्छौँ । हामीले के गर्नुपर्छ, भन्ने विषयमा धेरै छलफल गर्छौँ । हामी सबै निराश छौँ ।’
गत महिनाको दोस्रो हप्ता तालिबानले काबुलमा आक्रमण गरेको थियो, त्यतिबेला देखि नै एसेल घरबाट बाहिर निस्किएकि छैनन् । आफ्नो क्रिकेट किट पनि हटाएकी छिन् । उनले काबुलमा आफ्नो सााथी निशाना बनेकोबारे पनि बताइन् । उनी भन्छिन्– ‘जहाँ हामी क्रिकेट खेल्छौँ, त्यहाँ तालिबानसँग काम गर्ने केही मानिसहरुको बारेमा थाहा छ । जब तालिबानले काबुल आफ्नो कब्जामा लिएको थियो, तब उनीहरुले धम्की दिएका थिए । अब कुनै महिलाले क्रिकेट खेलेमा मृत्युदण्ड दिइने उनीहरुले बताएका थिए ।’
तकवा (नाम परिवर्तन) वर्षौँदेखि अफगानिस्तान महिला क्रिकेट टिममा छिन् । काबुलमा तालिबानले कब्जा जमाएपछि उनी अफगानिस्तान छोड्न सफल भइन् । पहिचान हुने डरले उनले केही घरहरु परिवर्तन गरिरहिन् । तालिबानले उनको पीतालाई फोन गरेका थिए, तर उनले आफ्नो छोरी सम्पर्कमा नरहेको बताए ।
तकवा भन्छिन् – ‘अब के हुन्छ, यसबारेमा म अब सोच्न चाहन्नँ । तालिबान जब काबुलमा आयो, तब एक हप्तासम्म मैले न केही खाएँ न सुत्न सकेँ । म केवल आफू र आफ्नो टिमका महिलाबारे सोचेर चिन्तित थिएँ । उनीहरु सबै आफ्नो जीवन र अध्ययन बर्बाद गरिरहेका छन् । कयौँले त बिवाह समेत गरेका छैनन्, ताकि अफगानिस्तानका लागि खेल्न सकियोस् । म सबैलाई लिएर चिन्तित छु ।’
एक अर्का पूर्व खेलाडी हरीर (नाम परिवर्तन) ले अफगानिस्तानमा महिलाले क्रिकेट खेल्नु भनेको विकेट लिनु र रन बनाउनु मात्रै नभएको बताइन् । उनी भन्छिन्, ‘जब म खेल्थेँ, एक बलियो महिलाको भावना मनमा थियो । मभित्र आत्मविश्वास थियो र आफूमाथि गर्व लाग्थ्यो । यस्तो लाग्थ्यो कि एक महिलाको रुपमा म जे पनि गर्न सक्छु । आफ्नो सपना पुरा गर्न सक्छु ।’
तर अब हरीर र अफगानिस्तान महिला टिमका अन्य खेलाडीका सपना सायद साकार हुने छैन । एक वर्ष पहिले उनीहरुको मनमा आशा थियो, तर अहिले उनीहरु आफ्नो सुरक्षालाई लिएर निकै डराएका छन् ।
तालिबानी सरकार सत्ताबाट हटेको एक वर्षपछि अफगानिस्तान क्रिकेट बोर्डले मान्यता पाएको थियो । तालिबान गएपछि अफगानिस्तानमा खेल गतिविधि सुरु भएको थियो । अफगानिस्तामा क्रिकेटमा रुचि २००० को दशकमा बढ्यो । अफगानिस्तानको पुरुष क्रिकेट टीम विश्वसम्म पुग्यो । २०१७ मा टेस्ट क्रिकेटले पनि मान्यता पायो । राशिद खान र मोहम्मद नबी जस्ता खेलाडी अन्तर्राष्ट्रिय स्टार बने ।
अफगानिस्तानमा राष्ट्रिय महिला क्रिकेट टीम २०१० मा बन्यो । यसको विरोध पनि भयो । सुरुवातमा अफगानिस्तान क्रिकेट बोर्डले महिला टीमलाई अन्तर्राष्ट्रिय खेलबाट बञ्चित गरेको थियो । बोर्डले तालिबानको डरलाई उद्धृत गरेको थियो । २०१२ मा अफगानिस्तानको महिला टीम ताजिकिस्तानमा ६ क्षेत्रीय टिमको टुर्नामेन्टमा भाग लिन गए र उनीहरुले जिते पनि । तर दुई वर्षपछि फेरि संकट आयो । एसीबीले यसको लागि तालिबानको धम्कीलाई जिम्मेवार मानेको छ ।
अफगानिस्तानकि महिला क्रिकेट टीम विघटनपछि पनि महिलाले खेल्न छोडेनन् । एसीबीसँग अहिले पनि थोरै संख्यामा स्टाफ छन्, जसको जिम्मेवारी महिलाको म्याचका लागि प्रबन्ध गर्नु हो । तर हरीर भन्छिन्, ‘एसीबीभित्र सहयोग गर्ने थोरै मात्रै मानिसहरु छन् । उनीहरु बिन्ती गरेपछि मात्रै म्याचको आयोजना गर्छन् ।’
खुशी पनि व्यक्त गर्न सक्दैनन् खेलाडी
‘म एक बलर हुँ । तर विकेट लिएपछि म खुशीले चिच्याउन सक्दिन । म आफ्नो खुशी व्यक्त गर्न सक्दिन, किनकी मलाई पुरुषहरु पनि हेरिरहेका हुन्छन् । मैले आफ्नो भावना नियन्त्रणमा राख्नुपर्छ । म आवाज निकालेर आफ्नो टीमको हौसला बढाउन सक्दिन । म उनीहरुको समर्थन गर्न सक्दिन । म खुशीयाली मनाउन सक्दिन ।’
पुरुष टीम राम्रो प्रदर्शन पश्चात एसीबीले महिला क्रिकेटमा ध्यान दिन सुरु गरेको थियो । आइसीसीको नियम अनुसार क्रिकेट टीममा १२ जना सदस्य आवश्यक पर्छ । २०१७ मा अफगानिस्तानले राष्ट्रिय टीम बनाउन यो शर्त पुरा गर्यो । २०२० मा २५ महिलालाई कन्ट्राक्ट दिइएको थियो ।
१० महिनाअघि अफगानिस्तानको महिला टीमले आशाको एक नयाँ किरण देखेको थियो, जुन धेरै दिनसम्म टिक्न पाएन । तालिबानको अघिल्लो शासन अर्थात् १९९६ देखि २००१ को बीचमा केटी र महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको थियो । ८ वर्षभन्दा बढी उमेरका केटीहरु स्कुल जान मनाहि थियो । महिला घर बाहिर काम गर्न जान पाउँदैन थिए । घरबाट निस्कनका लागि कुनै पुरुष साथमा हुनु जरुरी थियो ।
तालिबानले यस पटक खेल क्षेत्रमा महिलालाई खेलका लागि स्वतन्त्र छोड्ने विषयमा कुनै कुरा गरेको छैन । एसीबीका मुख्य कार्यकारी अधिकारी हामिद शिनवारीका अनुसार तालिबानले पुरुष क्रिकेट टीमको समर्थन गरेको छ, उनीहरुलाई अष्ट्रेलियासँग नोभेम्बरमा आफ्नो पहिलो टेस्ट म्याच खेल्न अनुमति समेत दिएको छ । तर महिला टीमलाई भने रोक्ने सम्भावना छ । यसले अफगानिस्तानको आइसीसीको सदस्यतामा असर पर्नेछ ।
अफगानिस्तानको महिला टीम तालिबानको शासनबाट बाहिर निस्कन चाहन्छन्, जसरी ५० अफगानी एथ्लेटिकलाई निकालियो । आइसीसीका एक प्रवक्ताले भने, ‘सबैले अपेक्षा गरे अनुसार, हामी अफगानिस्तान क्रिकेटसँग सम्पर्कमा छौँ । बोर्ड र हामी त्यहाँ स्थितिको अनुगमन गर्दैछौँ ।’
तर तकवा भने आइसीसी महिलाको सम्पर्कमा नरहेको बताइन् । एसीबीले महिलाको भलाइको लागि कुनै चासो देखाएका छैनन् । महिलाहरु निराश छन् । तकवा भन्छिन्, ‘म एक अन्तर्राष्ट्रिय क्रिकेटर बन्न चाहन्छु । म एक मजबूत अफगान महिला बन्न चाहन्छु, जसले अन्य महिलाको जिन्दगीमा परिवर्तन ल्याउन सकोस् । साथै अन्य महिलाको लागि प्रेरणा पनि बन्न चाहन्छु ।’






