जनकपुरधाम । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने दुई प्रमुख सडकखण्डमा भएको अतिक्रमण हटाउन ३५ दिनको समय दिएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र सडक क्षेत्र खाली नगरे कानुनअनुसार डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाउने चेतावनी दिएको हो ।
सडक डिभिजन जनकपुरले साउन १४ गते जारी गरेको सूचनामा माइस्थान–गौशाला–सम्सी सडकखण्ड (चेन ०+००० देखि २६+९४०) र बर्दिबास–जलेश्वर सडकखण्ड (चेन ०+००० देखि ४२+०००) मा सार्वजनिक सडक ऐन, २०३१ विपरीत विभिन्न किसिमका अतिक्रमण भएको उल्लेख गरेको छ ।
कार्यालयका अनुसार सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र अनधिकृत पार्किङ, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड स्थापना गर्ने, निर्माण सामाग्री थुपार्ने, सडक किनारमा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना बनाउने कार्य भइरहेका छन् । यस्ता गतिविधिले सडक क्षेत्र साँघुरिनुका साथै यातायात व्यवस्थापन र सर्वसाधारणको आवतजावतमा समस्या सिर्जना भएको कार्यालयको भनाइ छ ।
सडक डिभिजनले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सबै प्रकारका अतिक्रमण हटाई सडक क्षेत्र खाली गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ । तोकिएको अवधिमा अतिक्रमण नहटाए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम कार्यालयले आफैं डोजर प्रयोग गरी संरचना हटाउने जनाएको छ । अतिक्रमण हटाउने क्रममा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने सूचनामा उल्लेख छ ।
यसअघि जनकपुरका सार्वजनिक जग्गा, मठ–मन्दिर तथा पोखरी संरक्षणको विषयले राजनीतिक चासोसमेत पाएको थियो । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठकमै जनकपुरको सडक अतिक्रमण हटाउने विषयमा चासो राख्दै सम्बन्धित मन्त्रीहरूसँग जानकारी मागेका थिए । उनले गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सडक डिभिजनको पछिल्लो निर्णयसँगै जनकपुर क्षेत्रका सडक किनारमा रहेका अस्थायी संरचना, अव्यवस्थित पसल, पार्किङ तथा अन्य अतिक्रमण हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । ३५ दिनको समयसीमा सकिएपछि सडक क्षेत्र खाली गराउने अभियान सुरु हुने संकेत देखिएको छ ।




