रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेल माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा गढीमाई नगरपालिका ३ का २० वर्षीय शेख इर्फान र सोही नगरपालिका ३ गम्हरिया निवासी १९ वर्षीय इर्फान अन्सारी रहेका छन् । शेख इर्फान हाल गढीमाई नगरपालिका ७ धनाडीमा बस्दै आएका छन् ।
घटना साउन ७ गते गढीमाई नगरपालिका ७ स्थित पर्सा रामजानकी मठ परिसरमा भएको थियो । त्यस दिन सांसद पौडेल स्थानीयवासीसँग गुनासो सुनुवाइ कार्यक्रममा सहभागी भइरहेका बेला केही व्यक्तिले कार्यक्रमस्थलमा प्रवेश गरी उनीमाथि अपमानजनक तथा अमानवीय व्यवहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूले ‘मधेश मुक्ति अभियान जिन्दाबाद’ लगायतका नारा लेखिएका पर्चा प्रदर्शन गर्दै सांसद पौडेल प्रति दुर्व्यवहार गरेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरिएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ । उनीहरूलाई रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
यसअघि घटनाको विरोध गर्दै रास्वपा रौतहटले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै प्रहरी प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।




