जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा सिँचाइका लागि प्रयोग हुँदै आएको डिप बोरिङको ट्रान्सफर्मर चोरी भएपछि स्थानीय किसानले धान रोपाइँको मुख्य समयमा गम्भीर सिँचाइ संकटको सामना गर्नुपरेको छ । ट्रान्सफर्मर अभावका कारण बोरिङ सञ्चालन हुन नसक्दा खेतीयोग्य जमिनमा पानी पुर्याउन कठिन भएको किसानहरू बताउँछन् ।
गौशाला नगरपालिका १ मा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, नकटाझिज (धनुषा) को सहयोगमा २०७९ सालमा डिप बोरिङ सञ्चालनका लागि विद्युतीय ट्रान्सफर्मर जडान गरिएको थियो । उक्त प्रणालीबाट करिब १५ देखि १६ बिघा क्षेत्रफलमा नियमित सिँचाइ हुँदै आएको थियो ।
स्थानीय किसान धनबहादुर समाल मगरका अनुसार गत चैत ३० गते ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । घटनाबारे तत्काल प्रहरीलाई जानकारी गराइए पनि हालसम्म ट्रान्सफर्मर फेला परेको छैन । नयाँ ट्रान्सफर्मर जडान नहुँदा किसानले वैकल्पिक स्रोतको भर पर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।
किसानहरूले नेपाल विद्युत् प्राधिकरणसँग पटक–पटक नयाँ ट्रान्सफर्मर उपलब्ध गराइदिन आग्रह गरे पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् । उनीहरूका अनुसार समयमै सिँचाइ नहुँदा धानबालीको उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता बढेको छ ।
यता, नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश कार्यालयका प्रमुख शम्भु कुसियैतले पछिल्ला वर्षहरूमा मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना उल्लेखनीय रूपमा बढेको स्वीकार गरेका छन् । उनका अनुसार पछिल्ला पाँच वर्षमा प्रदेशका विभिन्न जिल्लाबाट १०५ वटा ट्रान्सफर्मर चोरी भएका छन्, जसमध्ये २५ भन्दा बढी घटना महोत्तरी जिल्लामै भएका छन् ।
प्राधिकरणले चोरी भएका ट्रान्सफर्मरको विवरण संकलन गरी अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइसकेको जनाएको छ । प्रमुख कुसियैतका अनुसार ट्रान्सफर्मरभित्र रहेको तामाको क्वाइल उच्च मूल्यमा बिक्री हुने भएकाले यस्ता चोरीका घटना बढिरहेका छन् ।
स्थानीय किसानहरूले कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने गरी भइरहेका यस्ता घटनालाई नियन्त्रण गर्न चोरीमा संलग्नलाई तत्काल पक्राउ गर्न, चोरी भएका ट्रान्सफर्मरको खोजी गर्न तथा प्रभावित क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान गरी सिँचाइ सेवा पुन: सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।




