सिरहा । सिरहाको गोलबजार नगरपालिकामा आर्थिक वर्षको अन्तिममा कागजमै योजना सम्पन्न देखाएर रकम निकासा गरिएको आशंका गरिएको छ । वडा नं. २ गुरुधामस्थित वडा कार्यालयअगाडि निर्माणाधीन १० लाख रुपैयाँको ढलान योजना साउनमा मात्र सुरु भएपनि त्यसको भुक्तानी प्रक्रिया भने असारमै अघि बढाइएको तथ्य सार्वजनिक भएको हो ।
नगरस्तरीय योजनाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न हुनुपर्ने उक्त योजनाको निर्माण कार्य बुधबार (साउन १३) बाट मात्रै सुरु भएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार असारमै योजना सम्पन्न भएको कागजात तयार गरी रकम निकासाको प्रक्रिया अघि बढाइएको थियो । तर, वास्तविक निर्माण कार्य भने नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै थालिएको हो ।
स्थानीय तहका कर्मचारीहरूका अनुसार बोलपत्र (टेन्डर) मार्फत ठेक्का लगाइएका योजनामा आवश्यक परे सम्झौता अवधि थप गर्न सकिने कानुनी व्यवस्था छ । तर, कोटेसनमार्फत सञ्चालन गरिएका योजनामा सम्झौता अवधि थप गर्ने व्यवस्था नहुँदा असारमै भुक्तानी प्रक्रिया अघि बढाएर साउनमा काम सुरु गर्नु कानुनविपरीत भएको उनीहरूको भनाइ छ ।
स्थानीय राजकुमार महतोले यो घटनालाई “ठाडो भ्रष्टाचारको नमुना” भन्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार उपभोक्ता समितिमार्फत काम गर्दा कमिसनको प्रक्रिया झन्झटिलो हुने भएकाले करोडौँ रुपैयाँका योजना कोटेसनमार्फत बाँडिएको हो ।
निर्माणस्थलमा योजना सम्बन्धी सार्वजनिक सूचना पाटी समेत नराखिएको स्थानीयको गुनासो छ । योजना लागत, निर्माण कम्पनी, कार्यावधि तथा जिम्मेवार निकायको विवरण सार्वजनिक नगरिएकाले पारदर्शितामाथि प्रश्न उठेको उनीहरूको भनाइ छ ।
नगरपालिकाकै एक कर्मचारीले नाम नखोल्ने सर्तमा उपभोक्ता समिति गठन नगरी गोलबजारस्थित गुन्जा कन्स्ट्रक्सनका सञ्चालक विजय साहमार्फत कोटेसनमा काम गराइएको दाबी गरे । उनका अनुसार काम सम्पन्न नभई सम्पन्न भएको सिफारिस गरेर रकम निकासाको प्रक्रिया अघि बढाइएको हो ।
स्रोतका अनुसार केही दिनअघि नगरपालिकाप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका वडा नं. २ का अध्यक्ष सुकदेव (सुख्खा) सिंहलाई सन्तुष्ट पार्न नगरप्रमुख श्याम श्रेष्ठले आर्थिक वर्षको अन्त्यतिर उक्त योजना उपलब्ध गराएका थिए । त्यसपछि ठेकेदारसँग आर्थिक बार्गेनिङ भएको र काम नगरी नै कार्य सम्पन्नको सिफारिस गरी रकम निकासा गरिएको स्थानीयको आरोप छ ।
यसबारे वडा अध्यक्ष सुकदेव सिंहले योजना गत आर्थिक वर्षकै भएको स्वीकार गर्दै असारमा काम गराउन नसकिएकाले अहिले कोटेसनमार्फत विजय साहलाई काम दिइएको बताए । रकम निकासाबारे उनले भने, “रकम निकासा भएपनि रोक्का गरिएको छ । काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने व्यवस्था गरिएको हो ।”
यद्यपि, वडा अध्यक्षको भनाइले नै थप प्रश्न खडा गरेको छ । यदि निर्माण कार्य सम्पन्न भएको थिएन भने रकम निकासा वा रोक्का गर्ने प्रक्रिया कुन कानुनी आधारमा अघि बढाइयो ? कार्य सम्पन्न भएको सिफारिस कसले गर्यो ? प्राविधिक मूल्याङ्कन कहिले भयो ? यी विषयमा नगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।
यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत अनन्त पौडेलसँग सम्पर्क गर्दा उनले “प्राविधिक शाखासँग बुझेर जानकारी दिन्छु” भनेका थिए । तर, केहीबेरपछि उनको कार्यालयको मोबाइल बन्द भएपछि थप सम्पर्क हुन सकेन । योजना शाखा प्रमुख जय गणेश सिंहको मोबाइल पनि बन्द रहेकाले उनको प्रतिक्रिया प्राप्त हुन सकेन ।




