सिरहा । बिहीबार साँझ गोलबजारको मुख्य सडकमा अस्वाभाविक सन्नाटा थियो । केही घण्टाअघि हजारौँ मानिसको भीडले भरिएको बजार अहिले सुरक्षाकर्मीको गस्तीमा सीमित थियो । सडक किनारमा जलेका मोटरसाइकलका अवशेष थिए, फुटेका सिसा छरिएका थिए र हावामा अझै अश्रुग्यासको गन्ध बाँकी थियो । केही समयअघि मात्रै चर्किएको हिंसाको प्रमाण ती दृश्यहरू आफैं बोलिरहेका थिए । तर, दिनको सुरुवात यति भयावह हुने संकेत थिएन ।
सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि गोलबजारमा आन्दोलन चलिरहेको थियो । बिहीबार पनि प्रदर्शनकारीहरू निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सडकमा उत्रिएका थिए । बिहानभर नाराबाजी, टायर बाल्ने र सडक अवरुद्ध गर्ने क्रम चलिरह्यो । सुरक्षाकर्मीले आन्दोलनलाई नियन्त्रणमा राखिरहेका थिए ।
दिउँसो करिब २ बजेतिर अवस्था अचानक बदलियो । गोलबजार नगरपालिका ४ क्षेत्रमा दुई समूह आमनेसामने भए । केहीबेर चर्को नाराबाजी भयो । त्यसपछि विवादले उग्र रूप लियो । लखेटालखेट सुरु भयो र केही क्षणमै ढुंगामुढा हुन थाल्यो ।
त्यसपछि भीडको एउटा भाग नेपाल टेलिकम कार्यालय नजिक पार्किङ गरिएका मोटरसाइकलतर्फ पुग्यो । करिब २१ वटा मोटरसाइकलमा तोडफोड भयो । केहीबेरमै आगोका लप्काले मोटरसाइकल निल्न थाले । राजमार्ग धुवाँले ढाकियो भने दमकल आगो नियन्त्रणमा लिन संघर्ष गरिरहेको थियो ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गर्यो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरियो । खुलेका पसलहरू बन्द भए । बजारभरि भागदौड मच्चियो ।
झडपपछि प्रदर्शनकारीहरूको भीड क्याम्पस रोडतर्फ सर्यो । त्यहाँ केहीबेर अवस्था सामान्य देखिए पनि त्यो शान्ति धेरै टिकेन । केहीबेरमै गोली चलेको आवाज सुनियो ।
प्रत्यक्षदर्शीका अनुसार गोली लागेर सिरहाको औरही गाउँपालिका २ तुलसियाहीका १५ वर्षीय गणेश यादव र धनुषाका सुभाष ठाकुर घाइते भए । गोली कसले र कुन परिस्थितिमा चलायो भन्ने विषयमा आधिकारिक निष्कर्ष आउन बाँकी छ ।
घाइतेहरूलाई तत्काल अस्पताल लगियो । तर केही समयपछि गणेश यादवको मृत्यु भएको खबर फैलियो । त्यो खबरसँगै गोलबजारको आक्रोश झन् बढ्यो । बजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भए । पसल, होटल तथा केही निजी संरचनामा क्षति पुगेको स्थानीयले बताएका छन् । साँझ पर्दासम्म सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि पटक–पटक अश्रुग्यास प्रहार गरे ।
गणेश यादवको शव घटनास्थलबाट उठाउने क्रममा उनका आफन्तले न्यायको माग गर्दै विरोध जनाए । दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउन उनीहरूले आग्रह गरे । केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि अन्तत: प्रहरीले शव नियन्त्रणमा लिएर नेपाली सेनाको श्री नन्दबक्स गण, चोहर्वा ब्यारेकतर्फ लगेको थियो ।
घटनामा घाइते भएका धनुषाका सुभाष ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १२ देखि १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालको मुखमा चोट लागेको र उपचारका क्रममा ६ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ ।
गोलबजारमा भएको बिहीबारको घटना केवल एउटा प्रदर्शनको कथा रहेन । केही घण्टाको अन्तरालमै एउटा आन्दोलन हिंसात्मक झडपमा बदलियो, एक किशोरले ज्यान गुमाए, दर्जनौँ सवारीसाधन जले, कर्फ्यु जारी भयो र स्थानीयवासी त्रासमा परे । अब सबैको चासो एउटै प्रश्नमा केन्द्रित छ- प्रदर्शन हिंसात्मक बन्नुका कारण के थिए, गोली किन चल्यो र त्यसको जिम्मेवारी कसले लिन्छ ? यसको उत्तर निष्पक्ष अनुसन्धानले मात्रै दिन सक्नेछ ।




