रौतहट । रौतहटको कटहरिया नगरपालिकामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार साउन १४ गते साँझ करिब ६:३० बजे कटहरिया नगरपालिका ३ बडेर्वा निवासी ७५ वर्षीया तेरी खातुन आफ्नै घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोको पछिल्लो भागमा गम्भीर चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको सूचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतकका २५ वर्षीय नाति शेख साहिदलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका साहिदले आफ्नै हजुरआमाको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यद्यपि घटनाको कारण र अन्य पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप कानुनी प्रक्रिया अघि बढाइएको र अनुसन्धान जारी रहेको जनाएको छ ।






