वीरगञ्ज । जबर्जस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा फैसला कार्यान्वयन टोलीले पोखरिया नगरपालिका २ लमरिया निवासी २३ वर्षीय सदाम अन्सारीलाई शुक्रबार साँझ करिब ४:३० बजे लमरिया सडकखण्डबाट पक्राउ गरेको हो ।
पर्सा जिल्ला अदालतले २०७८ मंसिर २९ गते जबर्जस्ती करणी मुद्दामा अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयनबाट बच्दै फरार रहेका उनलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






