रौतहट । सुनसरीलगायत विभिन्न जिल्लामा भएका घटनाको विरोधमा विश्व हिन्दु संघले रौतहटको दुर्गा भगवती गाउँपालिकामा शुक्रबार खबरदारी र्याली आयोजना गरेको छ ।
विश्व हिन्दु संघका जिल्ला सचिव धर्मेन्द्र महतो तथा हिन्दु अभियन्ता आदर्श झा र विकास महतोको नेतृत्वमा आयोजित र्यालीमा हिन्दु युवा, साधुसन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सहभागीहरूले विभिन्न नाराबाजी गर्दै दुर्गा भगवती गाउँपालिकाको विभिन्न क्षेत्र परिक्रमा गरेका थिए ।
पिपरा बजारबाट सुरु भएको र्याली मत्सरी र पचरुखी हुँदै पुन: पिपरा बजारस्थित दुर्गा मन्दिर अगाडि पुगेर समापन गरिएको थियो । प्रदर्शनका क्रममा केही समय सडकमा टायर बालेर विरोध जनाइएको थियो ।
प्रदर्शनमा सहभागीहरूले गृहमन्त्रीको राजीनामा, मुस्लिम आयोग खारेज, मदरसाको छानबिन, देशभर एउटै शिक्षा प्रणाली लागू गर्नुपर्ने तथा अन्य राजनीतिक मागहरू राख्दै नाराबाजी गरेका थिए ।
र्यालीपछिको सभालाई सम्बोधन गर्दै आयोजकका प्रतिनिधिहरू आदर्श झा र धर्मेन्द्र महतोले आफूहरू कुनै धर्म वा समुदायविरुद्ध नभएको दाबी गर्दै हालका घटनामा दोषीमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग गरे ।
उनीहरूले सुरक्षा निकायले निर्दोषमाथि बल प्रयोग गरेको आरोप लगाउँदै त्यसको छानबिन गरी जिम्मेवारमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । वक्ताहरूले मधेशका केही जिल्लामा सुरक्षाकर्मीको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए ।
प्रदर्शनका क्रममा टायर बाल्ने विषयलाई लिएर केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य तनावको अवस्था सिर्जना भएपनि स्थिति छिट्टै सामान्य बनेको प्रहरीले जनाएको छ ।




