सप्तरी । सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लगाइएको अनिश्चितकालीन कर्फ्यु हटाइएको छ । सुरक्षा अवस्था क्रमश: सामान्य बन्दै गएको निष्कर्षपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।
यद्यपि, जिल्लामा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम जारी गरिएको निषेधाज्ञा कार्यान्वयनमा रहनेछ ।
निषेधाज्ञा लागू रहेसम्म पाँच जना वा सोभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सार्वजनिक जमघट गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयले गत बिहीबार राति १० बजेदेखि बोदेबरसाईन नगरपालिका क्षेत्रमा र शुक्रबार बिहान ८ बजेदेखि राजविराज नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लागू गरेको थियो ।
प्रशासनका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न तनावको प्रभाव जिल्लामा नपरोस् तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम रहोस् भन्ने उद्देश्यले निषेधाज्ञा यथावत् राखिएको हो ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई संयमता अपनाउन, कानुनको पूर्ण पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।




