महोत्तरी । महोत्तरीको बर्दिबासस्थित कालापानी जंगल क्षेत्रमा निलगाई (घोडगधा) सँग मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । आइतबार बिहान करिब ११:१५ बजे बर्दिबास–सिन्धुली सडकखण्डअन्तर्गत बर्दिबास नगरपालिका ३ को कालापानी जंगलस्थित कारेभोगटे क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमल्सिनाका अनुसार दुर्घटनामा जनकपुर उपमहानगरपालिका १ निवासी ३२ वर्षीय विनयकुमार साह गम्भीर घाइते भएका थिए । उपचारका लागि बर्दिबासस्थित अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट निलगाई पनि घटनास्थलमै मरेको छ । दुर्घटनाको कारण तथा अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






