सप्तरी । लगातार पाँच दिनदेखि यातायात सेवा अवरुद्ध हुँदा सप्तरीमा खाना पकाउने एलपी ग्यासको आपूर्ति ठप्प भएको छ । बजारमा ग्यासको मौज्दात सकिँदै गएपछि जिल्लाका अधिकांश उपभोक्ता गम्भीर समस्यामा परेका छन् ।
एक सातादेखि नयाँ ग्यास सिलिन्डर जिल्लामा भित्रिन नसक्दा धेरै परिवारको भान्सा प्रभावित भएको छ । घरमा ग्यास सकिएपछि वैकल्पिक इन्धनको व्यवस्था नहुँदा कतिपय परिवारलाई खाना पकाउन समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।
राजविराजकी स्थानीय सकिना खातुनका अनुसार तीन दिनअघि नै घरको ग्यास सकिएको छ । दाउरा वा चुल्होको व्यवस्था पनि नभएकाले खाना पकाउन नसकिएको र परिवारलाई दैनिक गुजारा गर्न कठिन भएको उनले बताइन् ।
डब्लुएचआरडी सप्तरीकी जिल्ला अध्यक्ष अनिता देवकोटाले जिल्लामा जारी बन्दका कारण दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने परिवार सबैभन्दा बढी प्रभावित भएको बताइन् । उनका अनुसार रोजगारी प्रभावित भइरहेका बेला ग्यास अभावले सर्वसाधारणको दैनिकी झन् कष्टकर बनेको छ ।
राजविराज २ का रामनारायण विश्वासले जिल्लामा ग्यासको अभाव चुलिँदा नजिकैका शहरबाट समेत आपूर्ति सहज बनाउन नसकिएकोप्रति दु:ख व्यक्त गरे । उनले उपभोक्तालाई आवश्यक वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने बताए ।
यता, जिल्ला प्रशासन कार्यालयले ग्यास अभाव अन्त्य गर्न आवश्यक पहल भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण अधिकारीका अनुसार स्कर्टिङको व्यवस्था गरेर ग्यास बोकेका सवारीसाधनलाई जिल्लासम्म ल्याउने विषयमा उद्योग वाणिज्य क्षेत्रसँग समन्वय भइरहेको छ । उनले आइतबार साँझसम्म ग्यासको आपूर्ति हुने अपेक्षा गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले बजारमा कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएकाले शंका लागेका स्थानमा अनुगमन समेत तीव्र पारिएको बताए । प्रशासनले कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्यमा ग्यास बिक्री गर्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।




