सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित गणेश चोकमा सोमबार बिहान ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका ५ लक्ष्मीपुर निवासी ५० वर्षीय पंचलाल चौधरी रहेका छन् ।
उनी सासापुरस्थित गेला गाउँमा मजदुरी गर्न साइकलमा जाँदै गरेका बेला पूर्व-पश्चिम राजमार्गमा दुर्घटनामा परेका हुन् । प्रहरीका अनुसार मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रकले बिहान करिब ७ बजे चौधरीलाई ठक्कर दिएको थियो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनी सडक किनारमा रोकिएको बसको अगाडिबाट सडक पार गर्न खोजिरहेका बेला पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएको छ । दुर्घटनालगत्तै फरार भएका ट्रक र चालकलाई बागमती क्षेत्रबाट इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार चालकलाई हिरासतमा राखी घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ ।






