सप्तरी । सामाजिक सञ्जालमार्फत उत्तेजक भिडियो र भ्रामक सूचना फैलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय सप्तरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । यस्ता गतिविधिमाथि निगरानी गर्न प्रशासनले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन सेल’ गठन गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नरेशकुमार यादवका अनुसार निगरानीका क्रममा पक्राउ परेका तीन जनामध्ये तिरहुत गाउँपालिका ४ डिमनका २३ वर्षीय जफिर मियाँ र रूपनी गाउँपालिका १ का ३९ वर्षीय मुकेश यादवलाई सम्झाइबुझाइपछि रिहा गरिएको छ ।
राजविराज नगरपालिका ६ का २० वर्षीय छोटुकुमार मेस्तरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । प्रशासनका अनुसार हालसम्म सामाजिक सञ्जालमा उत्तेजक तथा भ्रामक सामाग्री पोस्ट गर्ने १० जनाको पहिचान गरिएको छ ।
छिन्नमस्ता गाउँपालिका ३ का आनन्द चौधरी, हनुमाननगर कङ्कालिनी नगरपालिका १४ का रामकुमार महतो, राजविराज नगरपालिका ६ का २८ वर्षीय विशाल चौधरी, राजविराज २ स्थित राजदेवी ड्राइभिङ सेन्टरका सञ्चालक ३५ वर्षीय आशिष यादव तथा सुरुङ्गा नगरपालिका १० कदमाहाका दिनेशकुमार यादवले पोस्ट गरेका सामाग्री हटाउन लगाइएको प्रशासनले जनाएको छ ।
यस्तै, विदेशबाट पनि यस्ता सामाग्री पोस्ट भएको पाइएको प्रशासनको भनाइ छ । राजविराज नगरपालिका ७ स्थायी घर भई हाल टर्कीमा रहेका सिनु साह तथा सुनसरीको हरिनगर गाउँपालिका ६ घर भई कतारमा रहेका २८ वर्षीय असिम अन्सारीले पनि सामाजिक सञ्जालमा उत्तेजक सामाग्री पोस्ट गरेको भेटिएको प्रशासनले जनाएको छ ।
प्रशासनले सामाजिक सद्भाव र सार्वजनिक शान्तिमा असर पर्ने किसिमका भ्रामक तथा उत्तेजक सामाग्री सामाजिक सञ्जालमा साझा नगर्न सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमाथि निगरानी र कानुनी कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।






