सप्तरी । सप्तरीको महादेवा गाउँपालिका १ स्थित महुवा खोलाको पुलमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महादेवा गाउँपालिका १ पकरी राम टोलका करिब ३७ वर्षीय फैंकन राम र २८ वर्षीय सन्तोष राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार स ०१–००६ प २४९६ नम्बरको मोटरसाइकल पकरीबाट बनौलीतर्फ जाँदै गर्दा तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा महुवा खोलाको पुलमा ठोक्किँएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । थप उपचारका लागि विराटनगर रेफर गरिएकामध्ये उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार मृतक दुवै जनाको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






