जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका ९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन शारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई उखुबारीमा पल्टिएको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका ५ का ४० वर्षीय विजय भुजेल तथा गौशाला नगरपालिका ११ का १० वर्षीय प्रतीक कुशवाहा, ८ वर्षीय प्रज्ज्वल कुशवाहा, १३ वर्षीया प्रिती कुशवाहा, गौशाला नगरपालिका ९ का १३ वर्षीय उमर शेख र गौशाला नगरपालिका ११ का ६ वर्षीय आदर्श कुशवाहा घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको खुट्टा, नाक र कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । चालक विजय भुजेल र उमर शेखलाई थप उपचारका लागि बीके अस्पताल, गौशाला पठाइएको छ भने अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी कान्तिबजारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।






