काठमाडौं । बारा र सप्तरीमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा गाँजा तथा नियन्त्रित लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बाराको कोल्हवी नगरपालिका ८ बाट जीतपुरसिमरा उपमहानगरपालिका १७ रामनगरका २५ वर्षीय रबि घिसिङसहित ६ जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले उनीहरूको साथबाट १४ ग्राम गाँजा, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
यस्तै, सप्तरीको कञ्चनरूप नगरपालिका ७ स्थित बलुवा चोकबाट भोजपुरको पैवादुबा गाउँपालिका ६ का २३ वर्षीय सागर राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट ९ किलो ९३० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
दुवै घटनामा संलग्न पक्राउ परेकाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।






