सिरहा । सिरहाको लहान नगरपालिका २२ सलोखरीबाट प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ११ बजे प्रहरीले शंका लागेर जाँच गर्दा २० वर्षीय सवरजित दासले लगाएको पाइन्टको दाहिने गोजीबाट म्यागजिनसहित ९ एमएम जस्तो देखिने पेस्तोल बरामद गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद भएको पेस्तोल तथा पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय लहानमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






