कपिलवस्तु । अदालत र प्रहरीमा आफ्नो पहुँच रहेको भन्दै जेलमा रहेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर पाँच लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका ५ बालानगर निवासी ३६ वर्षीय जग्गु तेली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार तेलीले बाणगंगा नगरपालिका ४ गजेहडा निवासी ६५ वर्षीय अब्दुल मोविन मुसलमानसँग उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने र कारागारबाट छुटाइदिने आश्वासन दिँदै विभिन्न समयमा पटक–पटक गरी पाँच लाख ६२ हजार रुपैयाँ असुलेका थिए ।
प्रहरीका अनुसार अकबर अली सवारी ज्यानसम्बन्धी कसुरमा २०८१ असोज ३० गते पुर्पक्षका लागि कारागार कार्यालय तौलिहवा चलान भएका थिए । उनी करिब डेढ महिनाअघि कारागारबाट छुटेका थिए । सोही मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका तेली भने २०८२ जेठ १ गते रिहा भएका थिए ।
कारागारबाट छुटेलगत्तै तेलीले अकबर अलीका बुवालाई भेटी आफ्नो अदालत, प्रहरी तथा विभिन्न सरकारी निकायमा पहुँच र प्रभाव रहेको दाबी गर्दै छोरालाई चाँडै छुटाइदिने विश्वास दिलाएर रकम लिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तेलीले पीडितलाई जेलभित्रैदेखि विश्वासमा पारेर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडितको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय बहादुरगञ्जको संयुक्त टोली परिचालन गरी शिवराज नगरपालिका ७ रुपपुर क्षेत्रबाट तेलीलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






