सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी गैरीटोलमा विषालु गोमन सर्पले डसेपछि अढाइ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शिवानीकुमारी बैठा रहेकी छन् ।
मङ्गलबार दिउँसो घरमा खेलिरहेका बेला उनी एक्कासि चिच्याएर रुन थालेपछि परिवारका सदस्यले सर्पले डसेको आशङ्का गरेका थिए । त्यसपछि उनकी आमा र घरमा इन्टरनेट जडान गर्न आएका डिसहोमका प्राविधिकले खोजी गर्दा घरमा गोमन सर्प फेला परेको थियो ।
सर्पले डसेको पुष्टि भएपछि बालिकालाई तत्काल लालबन्दी नगरपालिका १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो । करिब आधा घण्टासम्म उपचार गरिए पनि स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उपचार केन्द्रले भेन्टिलेटर सुविधा उपलब्ध रहेको बर्दिवास वा जनकपुर लैजान सिफारिस गरेको थियो ।
परिवारले उनलाई बर्दिवासस्थित अस्पताल पुर्याए पनि चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट जगर्नाथ यादवका अनुसार बालिकालाई उपचार केन्द्रमा ल्याउँदासम्म सर्पको विष शरीरमा धेरै फैलिसकेको र अवस्था अत्यन्त गम्भीर भएकाले बचाउन कठिन भएको थियो । घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ ।






