धनुषा । कुनै समय विपद् पर्दा राहत सामाग्री वितरण हुने, एम्बुलेन्सको साइरन निरन्तर गुन्जिने र स्वास्थ्यसँग सम्बन्धित विभिन्न तालिम सञ्चालन हुने स्थान थियो, धनुषाको मिथिला नगरपालिका ९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र । तर अहिले त्यही केन्द्र सुनसान छ ।
भवनमा ताल्चा झुन्डिएका छन्, आँगनमा थन्किएका एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस धुलो, घाम र वर्षाले जीर्ण बन्दै गएका छन् । करिब चार दशकअघि मानवीय सेवा, विपद् व्यवस्थापन र स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्र अहिले निष्क्रिय संरचनाको प्रतीक बनेको छ ।
करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको पूर्वाधार प्रयोगविहीन हुँदा स्थानीयवासीले यसको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सेवा खोज्नेहरू निराश फर्किन्छन्
स्थानीयका अनुसार रेडक्रसको बोर्ड देखेर रगतको खोजीमा आउने सेवाग्राहीहरू अहिले पनि केन्द्र पुग्ने गर्छन् । तर त्यहाँ कुनै सेवा उपलब्ध नहुँदा उनीहरूलाई जनकपुरधाम वा बर्दिबास जान सल्लाह दिनुपर्ने अवस्था रहेको छ ।
स्थानीय धिरजकुमार महतो भन्छन्, ‘यहाँ रेडक्रसको नाम त छ, तर सेवा छैन । रगत खोज्दै आएका मानिसहरू निराश भएर फर्किन्छन् । यस्तो संरचनालाई आँखा अस्पताल वा अन्य स्वास्थ्य सेवामा उपयोग गर्न सकिए समुदायलाई धेरै राहत मिल्ने थियो ।’ उनका अनुसार केन्द्रमा सञ्चालन भइरहेको नर्सरीबाहेक समुदायले कुनै उल्लेखनीय सेवा पाउन सकेको छैन ।
एम्बुलेन्स र बस कवाडी बन्ने अवस्थामा
केन्द्र परिसरमा रहेका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस लामो समयदेखि प्रयोगविहीन छन् । उचित संरक्षण र मर्मतको अभावमा ती सवारीसाधन क्रमश: जीर्ण बन्दै गएका छन् ।
कुनै समय बिरामी र विपद्पीडितको सेवाका लागि प्रयोग हुने साधनहरू अहिले खुला आकाशमुनि थन्किएका दृश्य स्थानीयका लागि चिन्ताको विषय बनेको छ ।
राहत सामाग्री दुरुपयोगको आरोप
स्थानीयले केन्द्रसँग जोडिएको अर्को गम्भीर विषय पनि उठाएका छन् । उनीहरूका अनुसार विपद्पीडितलाई वितरण गर्न ल्याइएका चामल, दाल, तेललगायत राहत सामाग्री समयमै वितरण नगरिँदा गोदाममै बिग्रिए ।
पछि ती सामाग्री खाडल खनेर गाडिएको आरोपसमेत स्थानीयले लगाएका छन् । यदि यो आरोप पुष्टि भए मानवीय सेवामा गम्भीर लापरबाही भएको मानिने स्थानीयको भनाइ छ ।
आन्तरिक विवादले ठप्प सेवा
लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाका अनुसार विगतमा केन्द्रमा विभिन्न गतिविधि सञ्चालन हुने गरे पनि पछिल्ला वर्षहरूमा आन्तरिक व्यवस्थापन र नेतृत्व कमजोर बन्दै जाँदा अधिकांश सेवा बन्द भएका छन् ।
केन्द्रमा कार्यरत कर्मचारी जीवनदेवी कोईरालाले पनि निर्वाचनका बेलाबाहेक अन्य समयमा कुनै उल्लेखनीय कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन नभएको बताइन् ।
नयाँ नेतृत्वको पहिलो प्राथमिकता केन्द्र पुनर्जीवन
जिल्ला कार्यसमितिको कार्यसम्पादनप्रति प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले धनुषा जिल्ला कार्यसमिति विघटन गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । पदभार ग्रहण गरेलगत्तै सभापति महतोले बडहरीस्थित केन्द्रको निरीक्षण गर्दै यसको वर्तमान अवस्थाप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले राहत सामाग्री दुरुपयोग भएको भनिएको विषयमा छानबिन गर्ने, थन्किएका एम्बुलेन्स र विशेष बस मर्मत गरी पुनः सञ्चालनमा ल्याउने तथा केन्द्रलाई समुदायमुखी र पारदर्शी संस्थाका रूपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भने, ‘करोडौंको लगानीमा बनेका संरचना र महँगा एम्बुलेन्स यसरी अलपत्र देख्दा दु:ख लागेको छ । रेडक्रस कुनै व्यक्तिको सम्पत्ति होइन । विगतका बेथितिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनेछ ।’
पुनर्जीवनको प्रतीक्षामा समुदाय
बडहरीस्थित रेडक्रस सामुदायिक विकास केन्द्र अहिले भौतिक संरचनामा मात्रै सीमित देखिन्छ । सेवा, सक्रियता र उद्देश्य हराएको यो केन्द्रलाई पुन: जीवन्त बनाउन नयाँ नेतृत्वमाथि ठूलो जिम्मेवारी आएको छ । स्थानीयवासी भने अब केन्द्र फेरि मानवीय सेवाको भरोसायोग्य थलो बन्ने अपेक्षामा छन् । उनीहरूको चाहना स्पष्ट छ- भवन मात्र होइन, सेवाले पनि फेरि जीवन पाओस् ।




