सर्लाही । सशस्त्र प्रहरीले श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरी जिल्लाको श्रीपुर नगरपालिका ४ बस्ने ४६ वर्षीय साजन मुखिया छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सग्रामपुर सर्लाहीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।
बरामद रुपैयाँमा एक हजार दरको १३ सय थान नेपाली रुपैयाँ रहेको छ । नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ ।






