काठमाडौं । सिराहाको घरमा कटुवा पेस्तोल फेला परेपछि प्रहरीले एक किशोरलाई काठमाडौंबाट पक्राउ गरेको छ । सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीका अन्दाजी १८ वर्षिय मोहम्मद अफरोज राईन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । उनको घरबाट बुधबार राति प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो ।
अफरोजले घरमा लुकाई छिपाई कटुवा पेस्तोल राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलीले पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।
अफरोजलाई प्रहरीले काठमाडौं महानगरपालिका ३२ तिनकुनेस्थित २०२० बोयज होस्टलमा बसिरहको अवस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरी वृत बानेश्वरसँग समन्वय गरी नियन्त्रणमा लिएर सिराहा प्रहरीले जिल्लामा लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






