सर्लाही । सर्लाही प्रहरीले सरकारी अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरी महँगो मूल्यमा बिक्री गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलङ्गवा नगरपालिका १० स्थित एक किराना पसलबाट अनुमति बिना डिएपी मल चर्को मूल्यमा बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा पसलबाट चार बोरा डिएपी र एक बोरा युरिया मल बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका दुई जनाले डिएपी मल प्रतिवोरा तीन हजार दुई सय रुपैयाँमा खरिद गरी तीन हजार पाँच सय रुपैयाँमा बिक्री गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको बयानका आधारमा प्रहरीले मल आपूर्ति गरेको आरोपमा अर्को एक व्यवसायीलाई पनि नियन्त्रणमा लिएको छ । ती व्यवसायीको पसलमा गरिएको खानतलासीका क्रममा थप सात बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको मल र प्राप्त बयानका आधारमा तीनै जनाविरुद्ध कालोबजारी सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






