महोत्तरी । चुरे क्षेत्रमा पर्ने गढन्ता खोलामा अकस्मात् आएको बाढीमा बगेर बर्दिबास नगरपालिका ५ का ६२ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको छ । उहाँ स्थानीयवासीमाझ ‘हकवाला बस्नेत’का नामले परिचित हुनुहुन्थ्यो ।
पारिवारिक स्रोतका अनुसार बस्नेत मङ्गलबार अपराह्न करिब ३ बजे खोला किनारस्थित खेतमा पानी लगाउन प्रयोग गरिएको विद्युतीय मोटर निकाल्न खोलातर्फ जानुभएको थियो ।
सोही क्रममा चुरेबाट एक्कासि आएको बाढीले उहाँलाई बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा अध्यक्ष काहारमान स्याङ्वाका अनुसार बस्नेत लामो समयसम्म घर नफर्किएपछि श्रीमती र आफन्तजनले खोजी थालेका थिए ।
खोजतलासका क्रममा घटनाको करिब पाँच घण्टापछि घटनास्थलदेखि झण्डै तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो ।
घटनाको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट माइस्थानबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरेको थियो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक (डीएसपी) गुरुप्रसाद तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।




