बारा । बारामा बिजुलीको पोलमा हुक लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका ७ कोतवाली बेल्वाका ६० वर्षीय गणेश महतो कोईरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान करिब १०:४० बजे कोईरी घरमा बत्ती बाल्ने उद्देश्यले बिजुलीको पोलमा हुक लगाइरहेका थिए । सोही क्रममा एउटा हुकको तार विद्युत् लाइनमा अल्झिएको र अर्को तार उनको शरीरमा खस्दा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घटनापछि उनका भाइ चन्देश्वर महतो कोईरीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याएका थिए । घटनाको जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट असई पुजई महराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
प्रहरीका अनुसार अस्पतालमा उपचारकै क्रममा दिउँसो १२:०५ बजे चिकित्सकले ईसीजी परीक्षणपछि कोईरीलाई मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




