वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १४ बाइपास सडकखण्डस्थित आईसीपी जाँचपास गरी नेपाल प्रवेश गरेको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले ट्याङ्करसहित पक्राउ गरेको छ ।
बिहीबार साँझ वीरगञ्ज १४ स्थित सौदागर आयल सेन्टरमा ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अवैध रूपमा तेल निकालिरहेको अवस्थामा उनीहरूलाई रंगेहात फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ (५५), पम्पमा लेखाको काम गर्ने असलम हवारी (२३), क्यासियर रफिक मियाँ (२१), ना ७ ख २८०४ नम्बरको ट्याङ्करका चालक केशर राम सुनार (४६) र सहचालक सन्देश राना मगर (२०) तथा ना ७ ख १५३९ नम्बरको ट्याङ्करका चालक मन्द सिंह लामा (५०) र सहचालक उमेश राना मगर (२७) रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसहित आवश्यक सामाग्री नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






