रौतहट । रौतहटको यमुनामाई गाउँपालिका ५ मा खेल्न निस्किएका ६ वर्षीय बालकको शव शुक्रबार बिहान नहरमा फेला परेको छ । बिहिबार अपराह्नदेखि सम्पर्कविहीन भएका खुसी आलम मृत अवस्थामा भेटिएपछि गाउँमा शोक छाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार स्थानीय सरमुला मियाका छोरा खुसी आलम बिहिबार अपराह्न करिब ३:३० बजे ४–५ जना साथीहरूसँग घरबाट करिब एक किलोमिटर पश्चिम रहेको सडक छेउको कल्भर्ट क्षेत्रमा खेल्न गएका थिए ।
उनीसँग गएका अन्य बालबालिका घर फर्किए पनि खुसी नआएपछि परिवारले आफन्त र स्थानीयको सहयोगमा रातभर खोजी गरेपनि कुनै जानकारी प्राप्त हुन सकेको थिएन । शुक्रबार बिहान बालकका बुबाले अस्थायी प्रहरी पोस्ट बमनहरमा मौखिक सूचना दिएपछि असई सञ्जीप सिंहको नेतृत्वमा प्रहरी टोली खोजीमा खटिएको थियो ।
खोज तलासकै क्रममा बिहान ९:५५ बजे यमुनामाई ५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर जीवनकुमार मैनालीको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ ।




