सर्लाही । रोजगारीका लागि भारतको पञ्जाब पुगेका नेपाली कामदार घर फर्किने क्रममा सीमावर्ती भारतीय बजार ढाकामा भएको अटो दुर्घटनामा सर्लाहीका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सर्लाहीको धनकौल गाउँपालिका ४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय राम रहेका छन् । उनीसहित नेपाली कामदारहरू सवार अटो शनिबार बिहान करिब ५ बजे दुर्घटनामा परेको हो ।
अजयसहित दुर्घटनामा परेका सबै जना भारतको पञ्जाबमा दैनिक ज्यालादारीमा कृषि तथा खेतीपातीको काम गर्दै आएका थिए । रोजगारी सकेर नेपाल फर्किने क्रममा सीमावर्ती क्षेत्रमा आइपुगेपछि उनीहरू सवार अटो दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझी घाइते भएका छन् । घाइते सबैको भारतस्थित सरकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनामा मृत्यु भएका अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको छ ।
शव नेपाल ल्याउन र घाइतेको उपचारमा सहयोग माग
रोजगारीका लागि भारत पुगेका नेपाली कामदार घर फर्किने क्रममा दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाप्रति स्थानीयस्तरमा चिन्ता व्यक्त गरिएको छ । समाजसेवी रामशरण यादवले मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन तथा अजय रामको शव नेपाल ल्याउने प्रक्रिया सहज बनाउन नेपाल सरकारसँग माग गरेका छन् ।
भारतमा रोजगारी गरेर फर्किने नेपाली नागरिक दुर्घटनामा पर्दा उद्धार, उपचार तथा शव नेपाल ल्याउने क्रममा परिवारले विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको भन्दै उनले सीमावर्ती क्षेत्रमा प्रभावकारी संयन्त्र बनाउन सरकारसँग आग्रह गरेका छन् ।
यस्ता दुर्घटनापछि पीडित परिवारले राहत, उपचार तथा शव व्यवस्थापनका लागि विभिन्न निकाय धाउनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने यादवको भनाइ छ ।






