सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जोगिनियाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले ३०२ किलो ४८० ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जोगिनियास्थित कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा लगाइएको सनपाट खेतबारीबाट उक्त गाँजा बरामद गरिएको हो ।
प्रहरीले भारत बिहारका नन्दकिशोर मुखियाले लगाएको सनपाट खेतमा खानतलासी गर्दा १२ बोरा गाँजा फेला पारेको जनाएको छ । अनुसन्धानका क्रममा बरामद गाँजा हनुमाननगर कंकालिनी नगरपालिका ७ मुखिया टोलकी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज धिमिरेका अनुसार बरामद गाँजाको तौल गर्दा कुल ३०२ किलो ४८० ग्राम रहेको छ । पक्राउ परेकी मुखियालाई नियन्त्रणमा लिएर गाँजाको स्रोत तथा कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






