पर्सा । पर्सामा प्रहरीले करिब ३९ किलो २५० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ बस्ने २३ वर्षीय दिपेश तामाङ रहेका छन् ।
प्रहरीका अनुसार शनिबार राति बिन्दवासिनी गाउँपालिका ४ मधवलबाट उनलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पोखरियासहितबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट भिस्वातर्फ जाँदै गरेको बा ८७ प ७८७० नम्बरको मोटरसाइकलमा सवार तामाङलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो ।
बरामद पदार्थ गाँजाजस्तो देखिने रहेको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । घटनामा उक्त पदार्थ कहाँबाट ल्याइएको थियो र कहाँ लैजाँदै गरिएको थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।






