रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका १० दुधिअवामा विद्युत् लाइन सर्ट भएर दुई तले घरमा आगलागी हुँदा नगदसहित करिब १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार सोमबार बिहान करिब ७:४५ बजे खरेल इँटा उद्योगका सञ्चालक दीपेन्द्र खरेलको घरमा अचानक आगलागी भएको हो ।
काठले बनेको र जस्तापाताले छाएको दुई तले घरमा आगलागी भएको प्रहरीले जनाएको छ । खरेल मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ का बासिन्दा हुन् । उनी हाल दुधिअवामा बस्दै आएका थिए ।
प्रहरीका अनुसार विद्युत् लाइन सर्ट भएर सुरु भएको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरभित्र राखिएको २ लाख रुपैयाँ नगदसहित अन्य सामान जल्दा प्रारम्भिक अनुमानअनुसार १९ लाख १३ हजार रुपैयाँ बराबरको क्षति भएको हो ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट इन्स्पेक्टर रादेश कुमार खत्रीको नेतृत्वमा ९ जना प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी चौकी दुधिअवाबाट थप ३ जना प्रहरी पनि परिचालन गरिएको थियो । त्यस्तै, सशस्त्र प्रहरी बेस विजयपुर लक्ष्मिनियाबाट इन्स्पेक्टर काजीराम श्रेष्ठको नेतृत्वमा ९ जना सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए ।
प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा बारा जिल्लाको कोल्हबी नगरपालिकाबाट आएको दमकलको सहयोगमा करिब डेढ घण्टापछि बिहान ९:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् लाइन सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






