सिरहा । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा बोलबम श्रद्धालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कर्जन्हास्थित उत्तरबाहिनी मन्दिरबाट बन्दीपुरतर्फ आउँदै गरेको ज १ त ४८०८ नम्बरको ट्र्याक्टर सोमबार साँझ करिब ८ बजे स्कुल गेटअगाडिको उकालोमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका १५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल, १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गङ्गिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास र १८ वर्षीय गोपाल यादव घाइते भएका छन् ।
त्यस्तै, ३३ वर्षीया मोनाकुमारी मण्डल, ५० वर्षीया चन्द्रकुमारी दास, ६० वर्षीय रामदुलारी दास, ४४ वर्षीया रामकुमारी दास, १७ वर्षीय पन्चा मण्डल, १७ वर्षीय आशिषकुमार यादव, १२ वर्षीया बिकी मण्डल, बिनाकुमारी मण्डल र १३ वर्षीय कृष्णकुमार यादव पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घाइतेमध्ये अनुराग मण्डलको अवस्था गम्भीर छ । दुर्घटनालगत्तै सबै घाइतेको उद्धार गरी उपचारका लागि फूलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्र्याक्टर चालक भने घटनास्थलबाट फरार भएका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ ।






